


महिला क्रिकेट टोलीले निश्चित समयको अन्तरालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउनु र टिमको कमजोरी सुधारका लागि पनि विशेष रूपले काम गर्नुले अघिल्ला खेलहरूभन्दा सुधारिएको प्रदर्शन हुने अपेक्षा गर्न सकिन्छ ।
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीका लागि एक महिनाभित्रै दोस्रोपटक अन्तर्राष्ट्रिय शृंखलाको अवसर जुरेको छ । गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३-३ खेलको शृंखला खेलेको नेपालले अब घरबाहिर शृंखला खेल्दै छ ।
घरेलु शृंखलामा जितविहीन रहेको नेपाली महिला टोलीले अब युगाण्डामा गएर घरेलु टोलीसँगै हङकङ र नामिबियासँग टी-२०आई शृंखला खेल्दै छ ।
नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै पाँच खेलको शृंखला खेलेको थियो भने हङकङसँग पनि विभिन्न समयमा खेलिसकेको छ । नामिबियासँग भने महिला क्रिकेटमा नेपालको पहिलो भेट हुनेछ ।
आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन् । यस्तोमा यस शृंखला नेपालका लागि वरियता सुधारको पनि मौका हुनेछ ।


