कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भव्य रूपमा भइरहेको छ । रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गतेसम्म कर्णालीमा सम्पन्न हुनेछ। महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन्।
विशेष अतिथिका रूपमा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्वमन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का, तथा सिनेमा ‘पुजार सार्की’ का लेखक एवं निर्देशक विकास सुवेदी उपस्थित थिए।
महोत्सवका निर्देशक चक्र बहादुर चन्दले कर्णालीलाई चलचित्र पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । यस अवसरमा विकास सुवेदीको निर्देशनमा बन्न लागेको ‘२६ करोड’ नामक चलचित्रको कर्णालीमै छायांकन गर्ने औपचारिक सम्झौता समेत गरियो।
त्यस्तै, उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रधुम्न पोखरेल, कलाकार, चलचित्रकर्मी तथा स्थानीय बौद्धिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।महोत्सवअन्तर्गत भोली गुराँस गाउँपालिकामा ‘गुराँस चलचित्र संवाद’ कार्यक्रम आयोजना गरिँदैछ।