काठमाडौ । नेपालमा युवाहरूको ठूलो संख्या हरेक वर्ष रोजगारीको खोजीमा विदेश पलायन भइरहेको छ। पर्याप्त रोजगारीको अभाव, न्यून आर्थिक अवसर, अस्थिर राजनीति, र गुणस्तरीय जीवनको खोजीले गर्दा उनीहरू आफ्नो जन्मभूमि छोड्न बाध्य छन्।
नेपालमा बेरोजगारीको दर उच्च छ। शिक्षा लिएर पनि काम नपाउने, काम पाइहाले पनि न्यून तलबमा चित्त बुझाउनुपर्ने अवस्था छ। सरकारी नीति दीर्घकालीन नभएकाले उद्योगधन्दा फस्टाउन सकेका छैनन्। जसले गर्दा नेपालमा रोजगारी सिर्जना हुन सकेको छैन ।
देश छोड्दा युवाहरूको मनभित्र उत्साहभन्दा बढी पीडा हुन्छ। उनीहरू आफ्ना परिवार, समाज र जन्मभूमि छोड्न चाहँदैनन्, तर बाध्यता यस्तो छ कि विदेशिनु नै उनीहरूको अन्तिम विकल्प बनेको छ।
यहि बाध्यता र विकल्पको बाटो रोज्दै भावुक हुँदै विदेशीएका छन् देवराज अधिकारी पनि । २ वर्षअघि अनेरास्ववियुको तर्फबाट बर्दिया बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत बनिसकेका देवराज अधिकारी देश छोडेर विदेश पलायन भएका हुन्।
विदेश जानुअघि उनले फेसबुकमा निकै भावुक स्टाटस लेख्दै आफ्नो पीडा पोखेका छन्। यस्तो छ उनको भावुकता झल्काउने स्टाटस
राजा त्रिभुवनले पर्यटक भित्र्याउन बनाएको विमानस्थललाई पापीहरूले युवाहरू सप्लाइ गर्ने नाका बनाइदिए ।
थाहा छैन, म जिउँदै देशप्रेमी भएर फर्कन्छु या मरेपछि काठको बाकसमा हालेर देशप्रेमी भएर फर्काइन्छ।
लागियो जिन्दगीको नयाँ गन्तव्यतिर।
अधिकारी त एक उदाहरण मात्र हुन् । देश छोड्ने चाहना नहुँदा नहुँदै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक सयौं युवाहरुको लाइन लाग्ने गर्दछ । पूर्व स्ववियु सभापतिहरू नेपालकै राजनीति र समाजमा प्रभावशाली भूमिका खेल्ने गर्दछन्। तर, अधिकारीको विदेश पलायनले युवा नेतृत्वकर्ताहरूले नेपालमा टिक्न नसकेको कटु यथार्थ उजागर गरेको छ। यस घटनाले नेपालमा युवाहरूका लागि अवसरको अभाव तथा राजनीतिले रोजगारी दिन नसकेको समस्यालाई पुनः सतहमा ल्याएको छ।
नेपालका युवाहरू बर्सेनि विदेशिनु दुःखद वास्तविकता हो। सरकारले रोजगारी सिर्जनाको दीर्घकालीन योजना ल्याउन सके मात्रै यो समस्याको दीर्घकालीन समाधान हुन सक्छ। अन्यथा विदेश गएर पैसा कमाउने सपना बोकेर त्रिभुवन विमानस्थल हुँदै हजारौं युवा विदेशिन बाध्य भइरहने छन्।