काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि चौतर्फी विरोध भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानका कारण लोडसेडिङ हटेको बताउँदै सरकारको कदमको विरोध गरे । सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यस्तै, सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि असन्तुष्टि व्यक्त गरेका छन् । थापाले सरकारले उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् । मन्त्रीले बाटो बिगारे प्रधानमन्त्रीले सम्हाल्नुपर्नेमा यहाँ प्रधानमन्त्रीले नै अनुमोदन गरिदिनु गलत भएको उनको भनाइ छ । सरकारका कामका बारेमा असन्तुष्टि सलबलाइरहेको र त्यसलाई सम्बोधन गर्नुपर्नेमा सरकारले आगोमा घिउ हालेको थापको भनाइ छ ।
आफुहरुले पटक पटक यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो, तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन’, थापाले लेखेका छन् ।
त्यस्तै, महामन्त्री शर्माले भने सरकारले कुलमानलाई हटाउने निर्णय समयोचित नभएको भन्दै विमति प्रकट गरेका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने बत्ति निभाएर विरोध गरेका छन् ।