काठमाडौँ । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन्।
बैंकको सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायममुकायम (सीईओ)को जिम्मेवारी दिएको छ । बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको हो । प्रमुख कार्यकारी अधिकृत ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा छन् । ज्ञवाली ज्योति विकास बैंकको सीईओ भइसकेका छन् । ज्ञवालीसँग बैङ्कहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक र ज्योति विकास बैंकमा गरी करिब २५ वर्ष बैंकमा काम गरेको अनुभव छ।
दैलेखको भैरवी गाउँपालिकामा जन्मिएका ज्ञवाली कर्णाली प्रदेशकै गौरवका रूपमा हेरिएका छन्। उनी लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनको नियुक्तिलाई धेरैले युवाहरूको उर्जाशील नेतृत्वका रूपमा समेत लिएका छन्।