काठमाडौँ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा समायोजन गरी एलपी ग्यासको प्रतिसिलिन्डिर १२ रुपैयाँ ७५ पैसा उद्योगीलाई कमिसन बढाउने सहमति गरेसँगै निगमको घाटा दर बढेको छ ।
मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकमा मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, निगमका कार्यकारी निर्देशकलगायतका प्रतिनिधि र एलपी ग्यास उद्योगीबिच भएको वार्तामा ग्यास उद्योगीलाई कमिसन बढाउने सहमति गरेको थियो ।
ग्यासमा कमिसन बढाउँदा नेपाल आयल निगमलाई थप भार थपिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । प्रवक्ता ठाकुरका अनुसार उद्योगीलाई कमिसन बढाउनुअघि नै निगम प्रतिसिलिण्डर ३३० रुपैयाँ घाटामा थियो । पछिल्लो सहमतिसँगै निगमले प्रतिसिलिण्डर ३४२.७५ रुपैयाँ भार बोक्नु परेको प्रवक्ता ठाकुरले बताए ।
‘उद्योगीलाई कमिसन बढाउँदा निगमलाई भार थपियो । हिजोको मितिमा ३३० रुपैयाँ प्रतिसिलिण्डर घाटा थियो,’ उनले भने, ‘उद्योगीको माग सम्बोधन हुँदा प्रतिसिलिण्डर १२.७५ रुपैयाँ थप बढ्यो ।’