यस्ता छन् शिक्षकका माग पुरा गर्न गगन थापाले दिएका दुई विकल्प

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न दुईवटा विकल्प प्रस्ताव गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै शिक्षक आन्दोलनबारे थापाले आफ्ना धारणा प्रस्तुत गरेका हुन् । महामन्त्री थापाले कानून नबनाएरै माग पूरा गर्न सकिने बताएका छन् ।
भिडियोमार्फत थापाले नयाँ शैक्षिक सत्र नजिक आइसकेकोले तत्काल मन्त्रिपरिषद् बैठकबाट शिक्षकका मागबारे निर्णय गरेर विद्यालयमा फर्काउनु पर्ने विकल्प सुझाएका छन् । शिक्षकहरुका केही माग सम्बन्धित मन्त्रालयले नै निर्णय गरेर सम्बोधन गर्न सकिने थापाको दाबी छ ।
शिक्षकको मुख्य माग शिक्षा ऐन जारीको विषयमा महामन्त्री थापाले आगामी बर्खे अधिवेशनको शुरुमै विधेयक पारित गर्ने गरी समझदारी गर्न सरकारलाई आग्रह गरेका छन् ।
नतिजा प्रकाशन गर्नुपर्ने र नयाँ शैक्षिक सत्र शुरु हुनेबेलामा शिक्षकहरु सडक आन्दोलनमा आउनु लज्जास्पद भएको थापाको भनाइ छ ।
शिक्षकहरूले सातायता विद्यालय शिक्षा ऐनको माग गर्दै शैक्षिक आन्दोलनमा सक्रिय छन् ।

प्रतिक्रिया