कुलमानको नयाँ इनिङ : कुन पार्टी रोज्लान ? माओवादीदेखि बालेनसम्मको चर्चा

काठमाडौं– कुलमान घिसिङ नामै काफी छ । देशलाई अध्यारो सुरुङबाट लोडसेडिङमुक्त गराएको जस कुलमानले पाइरहेका छन् । उनै कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि स्वयंम नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विरुद्धमै उत्रिए । उनीहरुले कांग्रेसकै मन्त्री र सरकारको आलोचना गरे । यसबाट प्रष्ट हुन्छ जो कुलमानविरुद्ध बोल्छ उसलाई राजनीतिक क्षति हुने पक्का छ ।
कार्यकाल सकिन ४ महिना मात्रै बाँकी रहँदा उर्जामन्त्री दिपक खड्का र कुलमानको शितयुद्ध उत्कर्षमा पुग्यो । सडकदेखि सदनसम्म कुलमानको विषय उठ्यो ।
यस्तोमा अब कुलमानले लिने बाटो के होला ? के उनी राजनीतिमा जोडिएलान वा स्वतन्त्र नागरिकको हैसियतमा बस्लान चासो छ । तर घटनाक्रम नियाल्ने हो भने उनी राजनीतिमा फर्किने सम्भावना बलियो छ । किनभने उनी २०७९ मै माओवादी कोटाबाट काठमाडौंमा प्रतिनिधी सभाको सदस्य बन्ने चर्चा चुलिएको थियो । अन्तमा उनले टिकट पाएनन् । तर आफु सासंदमा लड्न नचाहेको भनेर उनले खण्डन पनि गरेनन् ।
अब उनका लागि बाटो खुला भएको छ । प्राधिकरणको कार्यकारी हुँदा उनले जनस्तरबाट पाएको समर्थन लोभलाग्दो छ । त्यसैले पनि उनले त्यसलाई अवसरमा बदल्न सक्छन् ।
यसको संकेत शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले दिइसकेका छन् । उनले भनेका छन्, ‘नागरिकको हैसियतमा म जुनसुकै जिम्मेवारी लिन तयार छु ।’
कुलमान राजनीतिमा जोडिने संकेतपछि उनलाई भित्र्याउन सबै दलको जोडबल हुनेछ ।
धेरैजसोको अनुमान कुलमान राजनीतिक रूपमा नेकपा माओवादी निकट छन् भन्ने छ । यसको खण्डन उनले गरेका छैनन् । माओवादी केन्द्रले नै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएकाले पनि उनलाई जोडिएको हो । कतिपयले कुलमान र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग मिल्नेसक्ने अनुमान पनि गर्दै आएका छन् । कांग्रेस र एमालेसँगको टकरावका कारण कुलमान त्यहाँ अटाउने सम्भावना निकै कम देखिन्छ ।
नेकपा माओवादी केन्द्रले २०७९ को निर्वाचनमा आफ्नो चुनावी सामग्रीमा कुलमानको तस्बिर नै राखेको थियो । त्यसको व्यापक आलोचना भएपनि तस्बिर हटाएको थियो ।
राजनीतिक दलका रुपमा कुलमानको पक्षमा सबैभन्दा बढी माओवादी केन्द्र नै बोल्दै आएको छ । कुलमानसँग राजनीतिमा जोडिने पर्याप्त अवसर छन्, उनको रोजाईमा कुन पुरानै दल पर्छन वा नयाँ प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया