जब दुई महिनादेखि हराएका व्यक्तिको टाउको कुकुरले गाउँमा ल्यायो…

काठमाडौं । गुल्मीमा दुई महिनादेखि सम्पर्कविहीन रहेका एक जना व्यक्तिको टाउको कुकुरले बोकेर गाउँमा ल्याएको छ । कुकुरले टाउको गाउँमा ल्याएपछि ती व्यक्तिको मृत्यु भएको खुलेको हो ।
प्रहरीका अनुसार सोमबार राति गुल्मी दरबार गाउँपालिका वडा नम्बर ६ बेलपोखरी बस्ने ५५ वर्षीय रतन शाहीको अस्थिपञ्जर फेला परेको हो । उनी दुई महिनादेखि बेपत्ता थिए । गए राति साढे ९ बजेतिर वडा सदस्य सुन्दर कुँवरले कुकुरले टाउको बोकेर ल्याउँदै गरेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
मंगलबार बिहान प्रहरीले टाउको भएको स्थानभन्दा ५०० मिटर पर कंकाल फेला पारेको छ । कंकाल भेटिएकै स्थानमा कपडाहरु पनि फेला परे ।
कपडाकै आधारमा मृतकको सनाखत भएको छ । उनी घरमा एक्लै बस्ने गरेको र मानसिक अवस्थामा पनि केही समस्या आएको बताइएको छ । घटना शंकास्पद भने नभएको बताइएको छ ।

प्रतिक्रिया