काठमाडौं–नेकपा माओवादी केन्द्रभित्र प्रभावशाली मानिएका नेता जनार्दन शर्मालाई एक्ल्याउन थालिएको छ । पार्टीभित्र निर्वाचनमार्फत नेतृत्व चयनको चर्को विषय उठान गर्न नछाडेपछि उनलाई एक्ल्याउन थालिएको हो ।
उनीविरुद्ध वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरु सक्रिय भएर लागेका छन् ।
पछिल्ला २ वर्षयता प्रचण्ड र जनार्दनको सम्बन्धमा पनि उतारचढाव आएको छ । जनार्दनको समुह तल्लो स्तरसम्मै छ भने अन्य नेताहरुको पनि छ । एकल रुपमा भने जनार्दन समुह कार्यकर्तामाझ बलियो रहेको नेताहरु बताउँछन् ।
केन्द्रमा भने उनको समुहमा चर्चित नेताहरु छैनन् । सुदन किराती, खगराज भट्ट लगायतका नेताहरु शर्मालाई साथ दिदै आएका छन् ।
तर अखिल क्रान्तिकारी र प्रेस सेन्टरको निर्वाचनमा शर्माको समुह एकल निर्वाचनमा गएको थियो । अखिल क्रान्तिकारीको निर्वाचनमा सबै नेताको समुह छुट्टाछुट्टै निर्वाचनमा प्यानल बनाएर लडेको थियो । जसमा शर्मा समुहको दबदबा कायम भयो ।
तर प्रेस सेन्टरको निर्वाचनमा शर्मा समुहका अधिकाशं पदाधिकारी पराजित भए । सेन्टरको निर्वाचनमा शर्मा समुह बाहेकका सबै गुट मिलेका थिए ।
अब वाइसीएलको निर्वाचन जेठमा गर्ने तयारी छ । वाइसीएलको निर्वाचनमा पनि शर्मा समुह एकल चुनावी प्रतिस्प्रर्धामा जाने रणनीतिमा छ ।
कर्णाली प्रदेशमा आफ्नो वर्जश्व जमाएर शर्मालाई पार्टीभित्रै किनारा लगाउन थालिएपछि पार्टी कमजोर हुने आकलन पनि गरिदै आएको छ ।
शर्मा समुहका एक नेता भन्छन्,‘जनार्दनलाई पार्टीमा निषेध गर्न खोजीदैछ । यसले संकट निम्तनसक्छ । पार्टी हेडक्वार्टरले सबैलाई समेट्न नसके देशभर यसको असर देखिनेछ ।’
शर्मा यसअघि महासचिवका आकांक्षी थिए । तर अध्यक्ष प्रचण्डले निर्वाचनमा जान खोज्दा पनि रोकेर देव गुरुङलाई अघि सारेपछि शर्माको दुरी बढ्दै गएको थियो ।
शर्माले सार्वजनिक कार्यक्रममै उपमहासचिव पद अस्वीकार गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीभित्र केही तत्वले खेल्न खोजेको बेलाबेला टिप्पणी गर्दै आएका छन् ।