वैशाख २२, मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा सम्पन्न भएको छ । समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध बहस र छलफलहरू भएको छ ।
समारोहको प्रमुख अतिथि मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्की थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, वरिष्ठ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीलगायतको सहभागिता रहेको थियो ।
चलचित्र, पर्यटन र जलवायुको विषयमा केन्द्रित दुई वटा सत्रमा सम्पन्न समिटमा स्थानीय संस्कृति, भाषा, पर्यटन पूर्वाधार र अन्तर्राष्ट्रिय बजारमा चलचित्रमार्फत कर्णालीको प्रतिनिधित्व गर्ने विषयमा व्यापक छलफल गरिएको थियो ।
यस महोत्सवका सद्भावना दूतसमेत रहेका चलचित्र अभिनेता प्रदीप खड्काले रारा क्षेत्रमा मात्र नभई विश्वभरको चलचित्र छायाङ्कनका लागि उत्कृष्ट स्टुडियोको रूपमा रारा ताल र वरपरका प्राकृत सम्भावनाहरूलाई उजागर गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ‘प्रेम गीत २’ चलचित्रको छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णाली क्षेत्र विशेष गरी राराको अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनमा चलचित्रको प्रभावको चर्चा गरे । चलचित्र पर्यटन प्रवर्द्धन र भाषा, रीतिरिवाज संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने शक्तिशाली माध्यम भएको उनको धारणा थियो ।
उनले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिनु पर्ने र जलवायु परिवर्तनका कारण कर्णाली लगायत नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति माग्न कर्णालीवासीले आवाज उठाउन आवश्यक रहेको बताए । हिमालहरू पग्लँदै गएको, पानी र खाद्यान्न सङ्कट बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जलवायु परिवर्तनबारे जनचेतना फैलाउन र अभियान सञ्चालन गर्नुपर्ने उनको विचार थियो । साथै, आफ्नो नयाँ चलचित्र ‘छब्बीस करोड’ पनि चाँडै कर्णालीमा छायाङ्कन गर्ने योजना रहेको जानकारी दिए ।
महोत्सवको सह आयोजक रहेको संस्था चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कर्णाली चलचित्र महोत्सवले विभिन्न स्थानमा आयोजना गरेका कार्यक्रमहरूले चलचित्र क्षेत्रका नयाँ सम्भावनाहरूको खोजी गरेको र गाउँ(गाउँसम्म चलचित्र प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गरे । चलचित्र विकास बोर्डले बलिउडका केही प्रभावशाली व्यक्तिहरूलाई बोलाई रारामा समेत चलचित्रका गतिविधिहरू गर्ने योजना रहेको जानकारी दिए । रारा सहित कर्णालीका विभिन्न भागहरू खुल्ला स्टुडियोको रूपमा रहेको बताउँदै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी चलचित्र विकास बोर्ड अगाडि बढिरहेको उल्लेख गरे ।
निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले पहिलो पटक राराको सौन्दर्य अनुभूत गर्न पाएको बताउँदै भविष्यमा कर्णालीका कथालाई पर्दामा उतार्ने प्रतिबद्धता जनाइन् ।
रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु भामले ‘प्रेमगीत २’ पछि राराको प्रवर्द्धन बढेको भन्दै यस्ता गतिविधिलाई नीति बनाएर निरन्तरता दिने प्रतिबद्धता जनाए । यस्तै नेपाल पर्यटन बोर्डका अधिकृत गोपाल भण्डारीले पर्यटन र चलचित्र प्रवर्द्धनलाई हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, सोरु गाउँपालिकाका उपाध्यक्ष केशर जङ्ग शाही, वडाध्यक्षहरू लगायत स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले यस्ता समिटले कर्णालीका आवाजलाई केन्द्रमा ल्याएको बताउँदै छायाङ्कन र अन्य गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
महोत्सव निर्देशक चक्र बहादुर चन्दले महोत्सवलाई काठमाडौं केन्द्रित मात्र नभई कर्णालीका विभिन्न ठाउँमा गएर स्थानीय सम्भावनालाई उजागर गर्ने अभियानका रूपमा व्याख्या गरे । महोत्सव सल्लाहकार डा.महेन्द्र कुमार मल्लले कर्णालीको चेतना ब्युँझन थालेको बताउँदै महोत्सवले यो अभियान अझ सशक्त बनाउने उल्लेख गरे ।
यसअघि सुर्खेत र दैलेखमा महोत्सव सम्पन्न भइसकेको छ भने अवार्ड समारोह काठमाडौंमा आयोजना गरिनेछ । महोत्सवले चलचित्रमार्फत पर्यटन र जलवायु परिवर्तनको सन्देश फैलाउने, चलचित्रकर्मीलाई कर्णालीमा भित्र्याउने, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने लक्ष्य लिएको छ । घुमौँ कर्णाली, हेरौँ कर्णालीू भन्ने मूल नाराका साथ आयोजित महोत्सवले नेपाली चलचित्र प्रवर्द्धनसँगै कर्णाली क्षेत्रको पर्यटन र जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्य लिएको छ ।