भुवन बोहरा काठमाडौं– नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको विवादले निकास पाउन सकेको छैन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु नै दुई कित्तामा विभाजित भएपछि विवादले निकास नपाएको हो ।
पार्टी स्थायी कमिटी सदस्य खगराज भट्ट दलनेता भएकै बेला अर्का सांसद मानबहादुर धामीले बहुमत पुर्याउँदै भट्टलाई अल्पमतमा पारेका थिए । त्यसपछि उनी संसदीय दलको नेता भएका थिए ।
सभामुख बाहेक १० सांसद रहेका माओवादी प्रदेशसभामा भट्टको पक्षमा ४ र धामीको पक्षमा तत्कालीन समयमा छ जना सांसद थिए । तत्कालीन समयमा भट्टको पक्षमा झपट साउँद, रमेश धामी र जानकी कुवँर थिए भने मानबहादुर धामीको पक्षमा ओमविक्रम भाट, लक्ष्मी विक,गितादेवी माल,अक्कल रावल र शिवसिंह ओली थिए ।
ओलीले पछि लाइन परिर्वतन गर्दै भट्टकै पक्षमा उभिएपछि अहिले दुवै पक्षमा ५–५ जना छन् ।
यसबीचमा पटक–पटकका छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खगराजलाई दल नेतामा पुर्नस्थापित गर्न लिखित र मौखिक आदेश दिएका थिए ।
तर धामी पक्षले बहुमतीय प्रक्रियाबाट आए मान्ने तर सर्लक्कै छाडेर खगराजलाई दल नेता मान्न नसकिने बताउँदै आएका छन् ।
सुदूरपश्चिम प्रदेशसभाका सांसद वर्षमान पुन,नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माका नाममा विभाजित छन् । सबैभन्दा बढी सांसद नारायणकाजी र वर्षमान समुहका भएको बताइन्छ ।
आइतबार मात्रै खगराज भट्ट, रमेश धामी, झपट साउँद र शिवसिंह ओलीले अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । उनीहरु सबै भट्टलाई दल नेता बनाउनुपर्छ भन्ने लाइनका सांसद हुन् । १ घण्टा लामो भेटमा प्रचण्डले खगराजलाई नै दल नेता बनाउन चाहेको र अर्को बैठक सबै सांसदलाई बोलाएर जेठ १ गते डडेल्धुरामा गर्ने आश्वासन दिएका छन् । भट्टले आफुलाई दल नेता बाहेक अरु केही नचाहिने बताउँदै आएका छन् । उनले दल नेता नबनाएसम्म आफुले पार्टीका अन्य कामलाई समेत नसघाउने आफुनिकटलाई बताउँदै आएका छन् ।
सुदूरपश्चिममा संसदीय दलमा मात्रै नभइ पार्टीभित्र पनि गुटबन्दी मौलाउँदै गएको नेताहरु बताउँछन् । गुटबन्दीमा सबैजसो शीर्ष नेता सक्रिय रहेको कार्यकर्ताको गुनासो छ ।