


काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल समाजवादी का नेताहरुले विद्यार्थीसँग छात्रवृत्तिमा नाम निकालिन्छु भन्दै रकम गठी गरिरहेको पाइएको छ ।
संगठनका केन्द्रीय सचिवालय सदस्य डिबी चन्दले एक छात्रालाई स्टाफ नर्समा पढ्न सिटिईभिटीसँग कुरा गरेर छात्रवृत्ति कोटामा नाम निकालिदिने भन्दै अभिभावकबाट रकम गठी गरेका हुन् । चन्दले उक्त कार्यमा सिटिईभिटी जिल्ला उपाध्यक्ष रुपबहादुर धरलालाई समेत प्रयोग गरेको भेटिएको छ । अभिभावकसँग चन्दले कुरा गरेको तर पैसा चाहीँ धरलाको खातामा मागेको भेटिएको छ ।
पीडित विद्यार्थीका अभिभावकले चन्द र धरालले ठगी गरेको रकम फिर्ता र दोषीलाई कारवाहीको माग गर्दै अखिल समाजवादीको केन्द्रीय कार्यालयमा उजुरी गरेका छन् । गत फागुन १२ गते केन्द्रीय कार्यालयमा विकास बुढाले उजुरी गरेपनि हालसम्म कुनै सुनुवाई भएको छैन ।
आफ्नो थर हटाएर ‘सी’ लेख्ने संगठनका नेताको ठगी धन्दाको प्रमाणसहित उजुरी दिँदा समेत कुनै सुनुवाई नभएपछि पीडित विद्यार्थी चकित परेका छन् ।
गएको साउन २५ गते र त्यसपछि दुईपटक गरी एक लाख ७५ हजार रुपैया गठी गरेको उजुरीमा उल्लेख छ । चन्दले भनेअनुसार ती छात्रालाई स्टाफ नर्समा पढ्न नपाएको र रकम फिर्ता नगरेको, उल्टै सम्पर्कविहीन बनेको भन्दै बुढाले रकम असुलसहित कारवाहीको माग उजुरीमा गरिएको छ ।
यसअघि पनि चन्दले पटकपटक यस्तै धन्धा गर्ने गरेको र रकम सिधै आफ्नो खातामा नभएर फरकफरक व्यक्तिको नाममा माग्ने गरेको बताइएको छ । निवेदक बुढाले चन्दकै सल्लाहअनुसार धरलाको खातामा तीनपटक रकम पठाएको बताएका छन् ।
विद्यार्थीको हकहितको लागि भन्दै संगठनको जिम्मेवारी लिएका चन्द र धरलाको ठगी धन्धाबाट विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनमाथि नै प्रश्न उठेको छ । चन्द हाल गण्डकी प्रदेशको सहइन्चार्ज समेत छन् ।
डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका निवासी बुढाले अखिल समाजवादीका केन्द्रीय अध्यक्ष नरेन्द्र बिकलाई सम्बोधन गरेर उजुरी गर्दा पनि अहिलेसम्म पैसा फिर्ता गरेको र गठमाथि कारवाही नगरेकोले अभिभावक समेत चिन्तित भएका छन् ।
चन्दले पहिलेबाटै यस्तै कार्य गर्दै आएको तर औपचारिक निवेदन यसपटक मात्रै परेको बताइएको छ ।
तीन दिन अगाडि पीडित अभिभावक अखिल समाजवादीको केन्द्रीय कार्यालयमै पुगेका थिए । अध्यक्ष नरेन्द्र बिक, महासचिव प्रकाश जप्रेलसहितका नेताहरुसँग कुरा राखेपनि कुनै प्रक्रिया अगाडि नबढेको पीडितको भनाई छ ।


