काठमाडौं–पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नविकरण गरेकी छन् । यो वर्षको पार्टी सदस्यता उनले नविरकण गरेकी हुन् ।
राजनीतिमा आउने चाहना व्यक्त गरिसकेकी भण्डारीले सदस्यता नविकरण गरेको एमाले एकजना स्थायी कमिटी सदस्यले पुष्टि गरे ।
राष्ट्रपति बन्नुअघि भण्डारी नेकपा एमालेको उपाध्यक्ष थिए । भण्डारीसँगै उपराष्ट्रपति रहेका नन्दकिशोर पुन नेकपा माओवादी केन्द्रको उपाध्यक्ष बनिसकेका छन् ।
भण्डारीले पछिल्ला छ महिनायता राजनीतिक सक्रियता समेत बढाएकी छन् । एमाले पदाधिकारी र अन्य नेताहरु भण्डारीसँग नियमित परामर्शमा छन् ।
भण्डारी निकट एक नेताले भने,‘धेरैजसो साथीहरुको चाहना एकपटक पार्टीको नेतृत्व विद्याजीले गर्नुपर्छ भन्ने छ । यसमा एक÷दुई जनाबाहेक सबै सहमत नै छन् । उहाँले पनि एकपटक मात्रै पार्टीको नेतृत्व गरेर सबै कम्युनिष्ट पार्टीलाई एकतावद्ध गर्ने सोच राख्नुभएको छ । यो सकारात्मक पक्ष हो ।’
अध्यक्ष बन्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै समर्थनमा बन्ने भण्डारी समुहको विश्वास छ । सरकारका मन्त्रीको कामलाई लिएर पार्टीभित्र भण्डारी पक्षका नेताहरुले खुलेरै असन्तृष्टि जाहेर गरिरहेका छन् ।
भण्डारीले यस्तोमा एक कार्यकाल मात्रै नेतृत्वको चाहना देखाएकी हुन् । भण्डारी निकट नेताले भने,‘उहाँ राष्ट्रप्रमुख भइसकेको व्यक्ति हो । उहाँमा प्रधानमन्त्री बन्ने लोभ हुने कुरा भएन् । उमेरका हिसाबले पनि उहाँ सक्रिय हुने ठाउँ छ । सधैभरी नेतृत्वमा बस्ने उहाँमा मनसाय छैन् । एकपटक मात्रै नेतृत्व गर्ने उहाँको इच्छा छ ।’
समय आएपछि पार्टीमा औपचारिक रुपमा यो विषयले प्रवेश पाउने भण्डारी समुहका नेताहरु बताउँछन् ।
त्यसो त पछिल्लो समय एमालेमा वैचारिक संघर्ष भने छैन् । तर नेताहरुका नाममा विभिन्न गुट÷उपगुट सक्रिय छन् ।
यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साताका लागि चीन भ्रमणमा निस्कँदै छिन । शुक्रबार राति बेइजिङतर्फ उड्ने पूर्वराष्ट्रपति भण्डारीको भ्रमण टोलीमा एमाले नेताहरू मात्र सहभागि छन् । यसले पनि उनी राजनीतिमा फर्किने स्पष्ट संकेत गरेको छ ।
भण्डारी नेतृत्वको समितिमा एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट छन् ।