काठमाडौं– कृष्णबहादुर महरा, नेपाली राजनीतिमा नयाँ नाम होइन । तर एउटा उचाइमा पुगेर अप्रत्यासित रुपमा पतनको बाटोमा पुगेकाहरुमध्ये भने महरा नयाँ नाम हुन् । कुनै समय प्रचण्डका उत्तराधिकारीका रुपमा हेरिएका महरा अब राजनीतिको किनारमा परेका छन् । उनको राप ताप सकिएको छ । माओवादीमा अवसरै–अवसरको सगरमाथा चढेका महरा अन्ततः आफ्नै कर्मको हिमपहिरोमा परे । त्यहीबाट शुरु भएको नेत्रविक्रम चन्द विप्लवका गुरु अर्थात महरा सरको वियोगान्त पतनको कथा ।
पार्टीमा नेता–कार्यकर्ताको खोजीमा पर्दैनन् महरा । पत्नीवियोगको पीडा पनि उनले सामना गर्नपर्यो ।
बलात्कारको आरोपदेखि सुन तस्करीसम्मको आरोप महरामाथि लाग्यो ।
माओवादी युद्धका एक चर्चित कमाण्डर,थिए कृष्णबहादुर महरा । शान्ती प्रक्रियामा माओवादी आएसँगै महरा सत्ताको केन्द्रमा रहे । पटक–पटक सत्ताको अवसर पनि पाए ।
माओवादी पार्टी टुटफुट र विभाजन हुन थालेपछि महरालाई पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक उत्तराधिकारीका रुपमा हेरिन थालिएको थियो । तर काण्डैकाण्डमा फस्दै गएपछि महाराको सामाजिक प्रतिष्ठा त घुमिल भयो नै माओवादीकै नेता–कार्यकर्ताको नजरमा पनि उनको हैसियत गिरेको छ । उनलाई त्यो स्तरको सम्मान मिल्न छाडेको छ ।
माओवादी उपाध्यक्ष रहेका महरा बदनाम हुँदै गुमनाम नै भएका छन् । उनी न कुनै कार्यक्रममा देखिन्छन् न त मिडियाले नै खोज्छ । तर आइतबार वाइसीएलको राष्ट्रिय सम्मेलनमा महरा झुल्कीए ।
आफ्नै विवादित काण्डले उनलाई लखेटिरह्यो ।
पछिल्लो पटक चिनियाँ व्यापारीले इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत भित्र्याएको सुन छुटाउन उनले सहयोग गरेको आरोप लागेको थियो ।
भेपमा सुन ल्याएका चिनियाँसँग महरा र उनका छोराले पटकपटक टेलिफोनमा कुराकानी गरेको अनुसन्धानमा खुलेको थियो ।
प्रहरीले अनुसन्धानका लागि महरालाई पक्राउ पनि गर्र्यो । तर उनी छुटे । महरालाई छोरामाथि पनि अनुसन्धान भयो ।
६ पटक मन्त्री भएका महराले गृह, अर्थ, परराष्ट्र, सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालय सम्हालीसकेका छन् । उनी सभामुख समेत भए । सभामुख भएकै बेला बलात्कारको आरोप लागेपछि पदबाट राजीनामा दिए ।
प्रहरी हिरासतमा बसे । जिल्ला अदालत काठमाडौंबाट सफाई पाए ।
महरा सञ्चारमन्त्री हुँदा कौडीको भाउमा मोबाइल सेवाको लाइसेन्स वितरण गरेको आरोप पनि उनीमाथि छ ।
०६७ भदौ १८ गते महराले एक चिनियाँ व्यापारीसँगको गम्भीर अडियो टेप पनि सार्वजनिक भएको थियो ।
जसमा उनले सरकार निर्माण गर्न सांसदहरूलाई बाँड्नु पर्ने भन्दै ५० करोड मागेको अडिओ थियो । महराले माओवादी नेतृत्वमा सरकार बनाउन सांसद किन्न पैसा मागेको अडिओ बाहिरियो । तर अडियोमाथि कुनै अनुसन्धान भएन ।
०७४ सालको निर्वाचनपछि महराले प्रतिनिधि सभाको सभामुख भए ।
०७६ असोज १२ गते महरामाथि संसद् सचिवालयमै कार्यरत एक कर्मचारीले बलात्कार र कुटपिटको आरोप लगाउँदै प्रहरीमा उजुरी दिइन । उजुरी दिने महिलाको केही दिनअघि निधन भइसकेको छ ।
सभामुख पदमा रहेकै बेला एक कर्मचारीको घरमै गएर रक्सी खाएर बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परे ।
पीडित भनिएकी महिलाले अदालतमा बयान फेरेपछि महराले सफाइ पाएका थिए ।
महरा २०५८ र २०६० सालमा माओवादी र सरकारबीच दुई पटक भएका वार्तामा सहभागि थिए ।
पहिलो पटक वार्ता टोलीका संयोजक र दोस्रो पटक वार्ता टोलीका सदस्य भएका थिए ।
२०६२–०६३ सालको आन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएपछि सबैभन्दा बढी लाभको पद लिनेमा पनि महरा नै पर्छन् ।
तर उनको राजनीति काण्डै–काण्ड किनारमा पर्यो । जनता र पार्टीभित्रै उनको लोकप्रियता रातो ग्राफमा छ । उनी बदनाम हुँदै गुमनाम भएका छन् । हैसियत पार्टी उपाध्यक्ष भएपनि रातताप समाप्त भएको छ ।