दैलेखी सेवा समाजद्वारा नबिल बैंकका सीईओ मनोज ज्ञवालीलाई भव्य बधाइ तथा सम्मान

काठमाडौं, असार १०— दैलेखी सेवा समाजले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएको अवसरमा एक भव्य कार्यक्रममार्फत उहाँलाई बधाइ तथा सम्मान गरेको छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाबाट उदाएका मनोज ज्ञवालीलाई नेपालको अग्रणी नबिल बैंकको सिइओ बन्न सफल भएकोमा समाजले गौरवको अनुभूति गर्दै भब्य समारोहकाबीच सम्मान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष प्रताप शाहीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सीईओ मनोज ज्ञवाली स्वयं उपस्थित रहनुभएको थियो । कार्यक्रमको सञ्चालन दैलेखी सेवा समाजका महासचिव भक्त विश्वकर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष चक्रबहादुर चन्दले राख्नुभएको थियो । स्वागत मन्तव्य राख्दै समाजका उपाध्यक्ष चन्दले ज्ञवाली हरेक युवाहरुको प्रेरणाको स्रोत भएको बताउनुभयो । उहाँले ज्ञवाली एउटा बैंकमा मात्र सिमित नभइ खस्किदै गएको देशको अर्थतन्त्र उकास्न महत्वपुर्ण भूमिका खेल्न सक्ने क्षमतावान ब्यक्तीत्व भएको बताउनुभयो ।

शुभकामना मन्तव्य राख्दै समाजका सल्लाहकार प्रेम थापाले मनोज ज्ञवालीजस्तो इमानदार, कर्मठ र दिगो सोच बोकेका व्यक्तित्व बैंकको नेतृत्वमा पुग्नु दैलेख र कर्णालीकै गौरव भएको बताउँनुभयो ।।

सम्मान ग्रहण गर्दै सिइओ मनोज ज्ञवालीले सम्मानले आफुलाई थप जिम्मेवार बनाएको र जन्मभूमि दैलेखबाट पाएको समर्थन र माया सधैं प्रेरणाको स्रोत बनेको बताउनुभयो ।

विशिष्ट अतिथिमा शिक्षाविद् खड्ग शिजापती, समाजसेवी तथा मनोज ज्ञवालीका गुरु वद्री लम्साल र दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही लगायतका ब्यक्तीहरुले उहाँलाई बधाई दिँदै आगामी दिनहरूमा अझ सफल नेतृत्वद्वारा राष्ट्रको वित्तीय क्षेत्रमा थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नुका साथै, दैलेखबाट उदाएका प्रतिभाहरूलाई चिनाउने तथा प्रोत्साहन गर्ने कार्यमा समाज निरन्तर लागिरहने प्रतिबद्धता गर्नु भएको थियो ।

कार्यक्रमको विशेष अतिथि शिक्षाविद् खड्ग शिजापती, समाजसेवी बद्री लम्साल, ज्ञवालीका पिता जनार्दन ज्ञवाली, आमा पुष्पा ज्ञवाली, पत्नी संगीता ज्ञवाली, तथा दैलेखबाट सम्बद्ध अन्य विशिष्ट व्यक्तित्वहरू प्रेम थापा, नगर प्रसाद रेग्मी, भरत शाही, विनोद अधिकारी, लगायत समाजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका क्रममा ज्ञवालीलाई दोसल्ला, सम्मानपत्र र पुष्पगुच्छासहित सम्मान गरिएको थियो । कार्यक्रमको प्रारम्भ शान्तिपाठबाट गरिएको थियो भने समापन समाजका अध्यक्ष प्रताप शाहीले ज्ञवालीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै गर्नुभएको थियो ।

प्रतिक्रिया